पारालिम्निमा रहेका नेपाली युवाहरूको फुटबल क्लबले नोभेम्बर ९ तारिख आइतबारका दिन लिमासोलमा रहेको नियो फियस्ता बेनक्विट हलमा एक सांगीतिक कार्यक्रमको आयोजना गर्दैछ । केही समय पहिला पारालिम्नीमै फुट्सल प्रतियोगिता गराएको उक्त क्लबले यसपटक सांगीतिक कार्यक्रम गर्न लागेको हो ।
युवा माझ निकै लोकप्रिय बनेका गायक उर्गेन दोङ कार्यक्रमका लागि साइप्रस आउँदैछन् । गायक उर्गेन दोङलाई गड ग्रेस सिएफले ल्याउने भएको हो । कार्यक्रममा दोङले आफ्ना निकै चर्चित गीतहरू प्रस्तुत गरेर उपस्थित दर्शकलाई मनोरञ्जन दिनेछन् । साथमा स्थानीय कलाकारहरूले पनि आफ्नो प्रस्तुति राख्ने कार्यक्रम तय भएको आयोजकले जानकारी गराएको छ ।
कार्यक्रममा आउनेहरूले २० युरोको टिकटमा खाना र बस सेवा सहित अतिथि कलाकारसँग रम्न र रमाउँन पाउनेछन् । कार्यक्रमबाट संकलित रकमले आगामी दिनहरुमा अझै फुट्सलका कार्यक्रमहरू गर्ने योजना रहेको र साइप्रसमा क्रियाशील फुटबल खेलाडीहरूलाई एकै ठाउँमा जोड्ने लक्ष्य समेत राखिएको कार्यक्रम संयोजकले हामीसँगको कुराकानीमा बताए ।
नोभेम्बर ९ तारिख आइतबारका लागि विभिन्न शहरहरूबाट बस सेवा सुचारु गरिएकाले आफूलाई पायक पर्ने स्थानबाट बस सेवा लिन सोही स्थानका स्वयंसेवक साथीहरूसँग सम्पर्क गर्नका लागि आयोजकले सूचना जारी गरि सकेको छ ।

साइप्रसमा बस्ने नेपाली समुदायको गरिमामय उपस्थितिका लागि आयोजकले हार्दिक सादर निम्ता समेत बाँडेको छ ।


